प्रमुख खाद्यान्न बालीको समर्थन मूल्य अब बाली लगाउनुअघि नै तोकिने : मन्त्रालयद्वारा निर्देशिका जारी
काठमाडौँ, जेठ ३० । कृषि, वन तथा वातावरण मन्त्रालयले किसानको हितलाई मध्यनजर गर्दै प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी) बाली लगाउनुअघि नै निर्धारण गर्ने व्यवस्था लागू गरेको छ । सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत मन्त्रालयले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी निर्देशिका, २०८२’ जारी गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
गत वैशाख १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको यो निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता भई कार्यान्वयनमा आइसकेको छ । नयाँ व्यवस्थाअनुसार किसानले बाली लगाउनुअघि नै बजार मूल्य र आफ्नो सम्भावित आम्दानीको सुनिश्चितता पाउनेछन् ।
किसानलाई योजना बनाउन सहज
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले निर्देशिकाको प्रभावकारिताका बारेमा स्पष्ट पार्दै अब किसानले उत्पादन लागत र बजारको अवस्था विश्लेषण गरेर कुन बाली लगाउने भन्ने निर्णय लिन सक्ने बताउनुभयो । “किसानले आफूले उत्पादन गर्ने वस्तुको मूल्य पहिले नै थाहा पाउँदा लगानी र प्रतिफलको लेखाजोखा गर्न सजिलो हुन्छ,” मन्त्री चौधरीले भन्नुभयो ।
धान र गहुँको मूल्य निर्धारण
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । त्यस्तै, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको मूल्यसमेत निर्धारण गरिएको छ ।
जेठ ११ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार मोटा धान प्रतिक्विन्टल ३,६६०, मध्यम धान प्रतिक्विन्टल ३,८६० रुपियाँ कायम गरिएको छ ।
मकै र उखुको मूल्य प्रक्रिया
यसैगरी, मन्त्रालयले पहिलोपटक वर्षे मकैको पनि समर्थन मूल्य तोक्ने प्रक्रिया थालेको छ । आगामी फागुन मसान्तभित्र मकैको मूल्य निर्धारणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने लक्ष्य राखिएको छ । उखुको हकमा भने आर्थिक वर्ष २०८२/८३ को मूल्य निर्धारण भइसकेको र आगामी वर्ष २०८३/८४ का लागि कात्तिक मसान्तभित्र प्रस्ताव लैजाने तयारी मन्त्रालयले गरेको छ ।
यसअघि बाली भित्र्याउने समयमा वा ढिला गरी मूल्य तोकिँदा किसानहरू उचित मूल्य नपाउने र बिचौलियाको मारमा पर्ने गरेका थिए । सरकारको यो नयाँ पहलले कृषि क्षेत्रको व्यावसायिकता र किसानको आर्थिक सुरक्षामा योगदान पुग्ने विश्वास गरिएको छ ।