अमेरिकासँगको सम्भावित शान्ति सम्झौताको इरानभित्रै तीव्र विरोध, विदेशमन्त्रीको राजीनामा माग

एजेन्सी, ३१ जेठ । संयुक्त राज्य अमेरिकासँग सम्भावित शान्ति सम्झौताको कूटनीतिक चर्चा तीव्र भइरहेका बेला इरानभित्रै यसको विरोध प्रदर्शन चर्किएको छ। उत्तरपूर्वी इरानी सहर मशहद र राजधानी तेहरानमा प्रदर्शनकारीहरूले सम्भावित सम्झौताविरुद्ध नाराबाजी गर्दै विदेशमन्त्री अब्बास अराघचीको तत्काल राजीनामा माग गरेका हुन्।

इरानी समाचार एजेन्सी ‘फार्स’ले सार्वजनिक गरेको भिडियो फुटेज अनुसार मशहदस्थित विदेश मन्त्रालयको क्षेत्रीय कार्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरूले रातो र कालो झण्डासहित प्रदर्शन गर्दै ‘अराघची, राजीनामा देऊ’ र ‘घुसपेठीहरू मूर्दावाद’ जस्ता नारा लगाएका थिए। विदेशमन्त्री अराघचीले हालै सरकारी टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा अमेरिकासँग हुन लागेको सम्भावित सम्झौताका कतिपय सर्तहरूबारे सङ्केत गरेपछि यो आन्तरिक राजनीतिक विवाद सतहमा आएको हो।

सम्झौताका विरोधीहरूले प्रस्तावित व्यवस्था इरानको दीर्घकालीन रणनीतिक हितविपरीत रहेको दाबी गरेका छन्। सम्झौताका कारण रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने ‘होर्मुज जलसन्धि’ माथिको इरानी नियन्त्रण र प्रभाव कमजोर हुने उनीहरूको चिन्ता छ। विदेशमन्त्री अराघचीले अन्तर्वार्ताका क्रममा ‘हर्मुज जलसन्धिमा अब पहिले जस्तो इरानको एकाधिकार रहने छैन’ भनी दिएको बयानले राष्ट्रवादी तप्कालाई थप आक्रोशित बनाएको छ। सम्झौतामा इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने प्रावधान समेटिए पनि इरानले अमेरिकी दबाबका सामु ठूलो कूटनीतिक आत्मसमर्पण गर्नुपरेको विरोधीहरूको तर्क छ।

मशहदका अतिरिक्त राजधानी तेहरानस्थित विदेश मन्त्रालयको मुख्यालय बाहिर पनि यस्तै प्रदर्शन भएको सामाजिक सञ्जालमा दाबी गरिएको छ। प्रदर्शनकारीहरूले वार्ता प्रक्रियामा संलग्न विदेशमन्त्री अराघची र संसद्का अध्यक्ष (स्पीकर) मोहम्मद बाघेर गालिबफ दुवैको राजीनामा मागेका छन्।

अर्कातर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा पाकिस्तानी कूटनीतिज्ञहरूले यो सम्झौता छिट्टै अन्तिम रूपमा सम्पन्न हुन सक्ने बताउँदै आएका छन्। पाकिस्तानले आइतबार नै विद्युतीय माध्यमबाट सम्झौतामा हस्ताक्षर हुन सक्ने सङ्केत गरेको छ। यद्यपि, तेहरानले समयसीमाको विषयमा सावधानी अपनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सम्झौता तत्काल सम्पन्न भइहाल्ने दाबीलाई कम महत्त्व दिँदै ‘यो भोलिपल्टै हुने कुरा होइन’ भन्नुभएको छ, यद्यपि उहाँले आगामी दिनहरूमा औपचारिक रूप लिन सक्ने सम्भावना भने अस्वीकार गर्नुभएको छैन।