औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव र उच्च लागत मुख्य चुनौती: नेपाल राष्ट्र बैङ्कको अध्ययन

काठमाडौँ, ३१ जेठ । नेपालको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव, चर्को उत्पादन लागत र बजार व्यवस्थापनको कमजोरी मुख्य चुनौतीका रूपमा रहेको नेपाल राष्ट्र बैङ्कको एक अध्ययनले देखाएको छ।

केन्द्रीय बैङ्कले सार्वजनिक गरेको ‘चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन’ अनुसार पर्याप्त पुँजीको अभाव, प्रविधिगत पछौटेपन, दक्ष जनशक्ति पलायन र स्वदेशी वस्तुको कमजोर प्रतिस्पर्धी क्षमताका कारण औद्योगिक क्षेत्रले अपेक्षाकृत गति लिन सकेको छैन।

अध्ययन अनुसार कर्णाली प्रदेशका उद्योगहरूमा मुख्य रूपमा पुँजीको अभाव र बजारीकरणको समस्या छ। युवा जनशक्ति ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जाँदा स्थापित उद्योगहरूले प्राविधिक तथा सीपयुक्त जनशक्ति पाउन सकेका छैनन्। सुदूरपश्चिम प्रदेशमा भारतसँगको खुला सीमानाकाका कारण हुने भन्सार छली र अवैध आयात नियन्त्रण गरी स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउनु मुख्य चुनौतीका रूपमा औंल्याइएको छ।

चुनौतीका बाबजुद अध्ययनले नेपालको औद्योगिक क्षेत्रमा प्रचुर सम्भावनाहरू पनि औंल्याएको छ: मधेस प्रदेशमा धान, गहुँ, उखु, तेलहन र दुग्ध उत्पादन बढी हुने भएकाले कृषिमा आधारित खाद्य प्रशोधन, चिनी, चामल र पशु आहार उद्योगको ठूलो सम्भावना छ। यहाँ जनघनत्व बढी भएकाले सस्तो श्रम आपूर्ति सहज हुने र यसले उत्पादन लागत घटाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा औद्योगिक क्षेत्रको योगदान बढाउन सक्ने अध्ययनले देखाएको छ।

बागमती प्रदेशमा पशुपालन र जडीबुटीमा आधारित साना तथा मझौला उद्योगहरूको प्रचुर सम्भावना छ। वित्तीय संस्थाहरूमा रहेको अधिक तरलता र न्यून ब्याजदरको लाभ उठाउँदै थप कर्जा लगानी विस्तार गर्न सके औद्योगिक उत्पादन र रोजगारी बढ्ने प्रतिवेदनमा उल्लेख छ। साथै, विदेशबाट फर्किएका नेपालीहरूको सीप सदुपयोग गरी उद्यमशीलता बढाउन सकिनेछ।

त्यस्तै गण्डकी प्रदेशमा ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ जस्ता राष्ट्रिय अभियानहरूलाई प्रभावकारी बनाउन आवश्यक कानुनी सुधार तथा सडक, विद्युत् र इन्टरनेट पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिइएको छ। स्थानीय स्रोत र सीपमा आधारित उत्पादनलाई प्रवर्द्धन गरी आयात प्रतिस्थापन गर्न सकिने अध्ययनको निष्कर्ष छ।

मुलुकभर जलविद्युत् उत्पादनमा भइरहेको विस्तार, विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक ग्रामको पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेकाले सकारात्मक वातावरण बनेको अध्ययनमा उल्लेख छ। यसका साथै, बढ्दो प्रविधिको प्रयोगसँगै सफ्टवेयर विकास, सूचना प्रविधि सेवा तथा ‘आउटसोर्सिङ’ (बाह्य स्रोत परिचालन) उद्योगको विकासको सम्भावना निकै उच्च रहेको प्रतिवेदनमा जनाइएको छ।

सरकारी तथा गैरसरकारी निकायहरूमा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिने नीतिगत व्यवस्था, सहज बैंकिङ पहुँच, न्यून ब्याजदर र डिजिटल प्रविधिको प्रयोग बढाउन सके औद्योगिक क्षेत्रको गुणात्मक विस्तार हुने राष्ट्र बैङ्कको ठहर छ।