नेपालमा यस वर्ष ४५ वर्षयताकै बढी प्रि-मनसुन वर्षा, झापामा अति भारी वर्षा रेकर्ड
काठमाडौँ, ५ असार । नेपालमा यस वर्षको प्रि-मनसुन अवधिमा विगत ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपालमा औसत वर्षाको १४५ दशमलव ५ प्रतिशत अर्थात् ३३९ दशमलव ७ मिलिमिटर पानी परेको छ। सामान्यतया नेपालमा प्रि-मनसुन याममा औसत २२६ दशमलव ३ मिलिमिटर मात्र पानी पर्ने गर्दछ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार विभागले सन् १९८१ देखि देशभरका १२६ वटा वर्षा मापन केन्द्रहरूको तथ्याङ्कलाई आधार मानेर प्रि-मनसुनको विश्लेषण गर्दै आएको छ। सोही क्रममा यस वर्ष विगत साढे चार दशककै उच्च वर्षा रेकर्ड भएको हो।
यसैबीच, पछिल्लो २४ घण्टामा झापाको अनारमनी विर्तामा सबैभन्दा बढी २०८ मिलिमिटर (अति भारी) वर्षा मापन गरिएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा मानिन्छ। यसबाहेक इलाम, मोरङ, सुनसरी, सिन्धुलीका केही क्षेत्रका साथै पश्चिमतर्फ कास्की, लमजुङ र गोरखाका मापन केन्द्रहरूमा समेत खण्डवृष्टि (सीमित क्षेत्रमा भारी वर्षा) रेकर्ड भएको छ। पूर्वी नेपालबाट केही दिनमै यस वर्षको मनसुन औपचारिक रूपमा भित्रिने सँघारमा रहेको विभागले जनाएको छ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले पछिल्ला केही दिनयता जिल्लाका सीमित क्षेत्रहरूमा खण्डवृष्टि भइरहेको जानकारी दिँदै अहिलेसम्म ठूलो भौतिक वा मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको बताउनुभयो। सम्भावित बाढी र प्राकृतिक विपद्को प्रतिकार्यका लागि स्थानीय प्रशासन तयारी अवस्थामा रहेको उहाँको भनाइ छ।