सुनसरीमा डाक्टरकाे कारले ठक्कर दिँदा प्रहरीका वरिष्ठ नायब निरीक्षकको मृत्यु, श्रीमती घाइते
सुनसरी, ९ असार । सुनसरीको बर्जु गाउँपालिका–६ नरहचोक नजिकै आज भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका एक वरिष्ठ नायब निरीक्षक (सई) को मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ५० वर्षीय लालकुमार यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, चिमडीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय (ईभी) कारले विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार यादवकी श्रीमती ४७ वर्षीया रामपरी यादव पनि घाइते भएका छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
वरिष्ठ सई यादव जिल्ला प्रहरी कार्यालय बाराबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय सिरहाका लागि रमाना लिएर जाँदै गर्दा दुर्घटनामा परेको हो ।
प्रहरीले ठक्कर दिने कार र त्यसका चालक मोरङको कटहरी गाउँपालिका–३ का ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।