असार १२ भित्र होल्डिङ सेन्टर खाली गर्ने ‘अल्टिमेटम’ पछि सुकुम्बासी सडक आन्दोलनमा

काठमाडौं, १३ असार । सरकारले विस्थापित सुकुमवासीलाई १२ असारभित्र होल्डिङ सेन्टर खाली गर्न ‘अल्टिमेटम’ दिएको भालिपल्टबौट सुकुम्बासी सडक आन्दोलनमा उत्रिएका छन् ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले एक सूचना निकाल्दै असार १२ भित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्वासीलाई ‘अल्टिमेटम’ दिएपछि उनिहरु सडकमा ओर्लिएका हुन् । २५ हजार रुपैयाँ राहत रकम दिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि उनिहरु सडकमा ओर्लिएका हुन् । उनीहरु ‘बस्ती हटाउने खेल बन्द गर, गरिबमाथि अन्याय बन्द गर, सिंहदरबार रमायो, सुकुम्बासी रुवायो’ जस्ता प्रर्चा बोकेर सडकमा ओर्लिएका हुन् ।

उनीहरुले २५ हजार होइन उचित विकल्प राज्यले दिनुपर्ने भन्दै सरकारले कुनै विकल्प विना नै हटाएको भन्दै विरोध गरेका थिए । बागमती सभ्यता एकीकृत विकास समितिले जारी गरेको सूचनामा घरभाडाका लागि ३ महिनाका निम्ति तोकिएको रकम मासिक रूपमा किस्ताबन्दीमा बैंक खातामा उपलब्ध गराइने उल्लेख छ ।

सरकारको यस्तो निर्णयले सुकुमवासीले थप अन्योलमा परेको गुनासो गर्दै आएका छन् । काठमाडौंको चर्को घाममा छाता ओडेर सडकमा आएका विस्थापित सुकुमवासी सरकारले स्थायी व्यवस्थापन गर्नुपर्ने मागसहित सडकमा आउनु परेको बताउँछन् ।