जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु : दुई घाइते
काठमाडौँ, असार १८ । जुम्लाको हिमा गाउँपालिकामा बुधबार साँझ परेको चट्याङमा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हिमा गाउँपालिका २ का १९ वर्षीय रवीन्द्र रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार स्थानीय छोटा खर्क पाटनस्थित एनसेल टावर नजिक भेडा चराउन गएको अवस्थामा रावतलाई चट्याङ लागेको हो । घटनामा सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले घाइते दुवै जनाको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । चट्याङमा परी केही भेडाबाख्रा समेत मरेको भए पनि त्यसको यकिन सङ्ख्या प्राप्त भइनसकेकाले विवरण सङ्कलन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, बुधबार नै परेको चट्याङका कारण चन्दननाथ नगरपालिका १० बोहरागाउँमा पनि पशुचौपायाको क्षति भएको छ । स्थानीय सिद्धि गणेश सामुदायिक वनमा चट्याङ पर्दा चराउन लगिएका १२ वटा खसी बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।