मध्यपूर्वमा तनाव कम भएसँगै ओपेक प्लसले तेल उत्पादन बढाउने सङ्केत

एजेन्सी, २१ असार । मध्यपूर्व क्षेत्रमा द्वन्द्वपछि सिर्जित तनाव क्रमशः कम हुँदै गएपछि पेट्रोलियम निर्यातक देशहरूको सङ्गठन (ओपेक प्लस) ले तेलको उत्पादन कोटा बढाउने सम्भावना बलियो बनेको छ। विश्लेषकहरूका अनुसार आगामी बैठकमा तेल उत्पादन विस्तार गर्नेबारे महत्त्वपूर्ण निर्णय हुनसक्ने सम्भावना छ।

साउदी अरब र रुससहित ओपेक प्लसका प्रमुख सात सदस्य राष्ट्रहरूले आगामी अगस्ट महिनाका लागि उत्पादन कोटा निर्धारण गर्न अनलाइन बैठकमार्फत छलफल गर्दैछन्। स्विस बैङ्क ‘यूबीएस’ का कमोडिटी विश्लेषक जियोभानी स्टाउनोभोका अनुसार ओपेक प्लसले यसअघि लागू गरेको उत्पादन कटौतीलाई क्रमिक रूपमा फिर्ता लिने प्रक्रियालाई निरन्तरता दिँदै दैनिक करिब १ लाख ८८ हजार ब्यारेल उत्पादन बढाउन सक्ने सम्भावना छ।

यसअघि मध्यपूर्वको द्वन्द्वका क्रममा ‘स्ट्रेट अफ होर्मुज’ मा भएको अवरोधका कारण तेल आपूर्ति प्रणाली प्रभावित भएको थियो। हालै इरान र अमेरिकाबीच भएको अनौपचारिक समझदारीपछि समुद्री आवागमन सहज बनेको छ, जसका कारण आपूर्ति प्रणाली सामान्य बन्दै गएको छ। यससँगै तेलको मूल्य पनि द्वन्द्वपूर्वको अवस्थामा फर्किएको छ।

‘स्याक्सो बैङ्क’ का विश्लेषक ओले ह्यान्सेनले रोकेर राखिएको उत्पादन पुनः सुचारु गर्न केही समय लाग्ने भए तापनि निकट भविष्यमा उत्पादन वृद्धिको गति अझ तीव्र हुनसक्ने औंल्याएका छन्।

ऊर्जा विज्ञहरूले आगामी वर्ष बजारमा तेलको आपूर्ति आवश्यकताभन्दा बढी (अतिरिक्त आपूर्ति) हुन सक्ने प्रक्षेपण गरेका छन्। यस्तो अवस्थामा ओपेक प्लसभित्र उत्पादन क्षमताको पुनः मूल्याङ्कन र सदस्य राष्ट्रहरूबीच कोटा निर्धारण गर्ने विषय चुनौतीपूर्ण बन्न सक्ने चेतावनी समेत दिइएको छ।