एडिबीसंग १६ करोड ५० लाख डलरको ऋण सम्झौता: खानेपानी र भन्सार आधुनिकीकरणमा खर्च गरिने
काठमाडौँ, २२ असार । एसियाली विकास बैंक (एडिबी) ले नेपालको पूर्वाधार विकास र प्रशासनिक सुधारका लागि १६ करोड ५० लाख अमेरिकी डलर (करिब २२ अर्ब नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहमा नेपाल सरकार र एडिबीबीच दुई छुट्टाछुट्टै ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो। यो रकम मुख्यगरी खानेपानीको पहुँच विस्तार, ढल व्यवस्थापन र भन्सार प्रशासनलाई प्रविधिमैत्री एवं आधुनिक बनाउन खर्च गरिनेछ।
सम्झौता अनुसार कुल प्राप्त हुने रकममध्ये ११ करोड ५० लाख अमेरिकी डलर ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रगत) आयोजना’ का लागि विनियोजन गरिएको छ। यसले देशका विभिन्न सहरहरूमा स्वच्छ खानेपानी र व्यवस्थित ढल प्रणालीको विकासमा सहयोग पुर्याउनेछ।
यस्तै, बाँकी ५ करोड अमेरिकी डलर भन्सार प्रशासनको आधुनिकीकरणका लागि परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ। यसबाट भन्सार जाँचपास प्रक्रियालाई थप छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको उक्त सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडिबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गर्नुभयो।
हस्ताक्षर समारोहमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले नेपालको दिगो विकास लक्ष्य प्राप्तिका लागि एडिबीले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा यो साझेदारी अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।
एडिबीका अध्यक्ष मासातो कान्डाले नेपालसँगको छ दशक लामो ऐतिहासिक सहकार्यलाई स्मरण गर्दै नेपालले भोगिरहेका आन्तरिक र बाह्य आर्थिक चुनौतीहरू सामना गर्न बैंकले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।