उपत्यकामा एकैदिन दुई हजार बढी चालक कारबाहीमा, १९ लाख ७१ हजार राजस्व सङ्कलन
काठमाडौँ, २४ असार । काठमाडौँ उपत्यकाको सडक सुरक्षा र यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले आफ्नो सक्रियतालाई तीव्र पारेको छ। पछिल्लो २४ घण्टाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ७६ जना चालकहरू कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार, सडक अनुशासन कायम गराउने क्रममा विभिन्न प्रकृतिका कसुरमा चालकहरूलाई दण्डित गरिएको छ। कारबाहीमा तीव्र गति: १८९ जना, लेन अनुशासन: १३९ जना, सङ्केत बत्ती उल्लङ्घन: १२६ जना, मादक पदार्थ सेवन (मापसे): ६८ जना, निषेधित क्षेत्रमा हर्न: १२४ जना, नियमविपरीत ‘राइड सेयरिङ’: १२९ जना, फुटपाथ पार्किङ र एकतर्फी उल्लङ्घन: क्रमश: ८५ र ५९ जना, अन्य विविध कारबाही: १ हजार १५७ जना रहेका छन् ।
ट्राफिक प्रहरीको यस नियमित कारबाही र जरिवानाबाट पछिल्लो २४ घण्टामा मात्रै राज्यकोषमा रु १९ लाख ७१ हजार ५०९ राजस्व दाखिला भएको छ। कार्यालयका अनुसार सडकमा हुने सवारी चापलाई व्यवस्थित गर्न र सम्भावित दुर्घटना न्यूनीकरणका लागि ‘इन्फोर्समेन्ट’ (कार्यान्वयन) प्रक्रियालाई थप कडा बनाइएको हो।