नेपाल टेलिकम बिलिङ प्रकरण: भ्रष्टाचार मुद्दामा पूर्वप्रबन्ध निर्देशक पौडेलसहित १८ जनालाई विशेष अदालतको सफाइ
काठमाडौँ, २५ असार । विशेष अदालतले नेपाल टेलिकमको बहुचर्चित ‘बिलिङ प्रणाली’ ठेक्कामा भएको भनिएको भ्रष्टाचार मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित सबै १८ जना प्रतिवादीहरूलाई सफाइ दिएको छ। बुधबार भएको अन्तिम सुनुवाइपछि अदालतले अभियोग दाबी पुग्न नसक्ने भन्दै यस्तो फैसला सुनाएको हो।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उक्त मुद्दामा फैसला गरेको हो। विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार, सरकारी पक्षले पेस गरेको प्रमाण र दाबीले भ्रष्टाचार भएको पुष्टि गर्न नसकेपछि सबै आरोपीहरूलाई दोषमुक्त गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद र जडानको प्रक्रियामा अनियमितता भएको र राज्यकोषमा ठुलो नोक्सानी पुर्याएको दाबी गर्दै सुनिल पौडेल लगायत उच्च अधिकारीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यस प्रकरणमा खरिद प्रक्रियाको बोलपत्र देखि कार्यान्वयनको चरणसम्म आर्थिक चलखेल भएको आरोप लगाइएको थियो।
अदालतबाट सफाइ पाउनेहरूमा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलका अतिरिक्त टेलिकमका अन्य उच्च पदस्थ प्राविधिक र प्रशासनिक अधिकारीहरू रहेका छन्। यसअघि उनीहरूमाथि लागेको भ्रष्टाचारको अभियोगले टेलिकमको संस्थागत निर्णय प्रक्रिया र कर्मचारीहरूको मनोबलमा समेत प्रश्न उठाएको थियो।