पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण : वन्यजन्तु संरक्षण र डढेलो नियन्त्रणमा सहज हुने
काठमाडौँ, असार २६ । वन क्षेत्रमा पानीको उपलब्धता बढाएर वन्यजन्तुको संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा डढेलो नियन्त्रण गर्ने उद्देश्यका साथ पर्वतका पाँचवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय, पर्वतको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न पाँच स्थानमा पोखरी निर्माण सम्पन्न भएको हो ।
कार्यालयका प्रमुख हेमलाल न्यौपानेका अनुसार प्रतिपोखरी रु एक लाखका दरले आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने स्थानीय उपभोक्ताहरूले समेत श्रमदान गरेका थिए । जङ्गलको माटो र ढुङ्गा प्रयोग गरी बनाइएका यी पोखरीहरूले पारिस्थितिकीय प्रणालीको सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
पोखरी निर्माण गरिएका वनहरू
जलजला गाउँपालिका-५ स्थित गिद्धेश्वर सामुदायिक वन
महाशिला गाउँपालिका-५ स्थित भोर्लेडाँडा भिरलीचौर सामुदायिक वन
मोदी गाउँपालिका-४ स्थित जस्मे केदारे सामुदायिक वन
पैयुँ गाउँपालिका-७ स्थित दाङसिङ पाखो सामुदायिक वन
कुश्मा नगरपालिका-१ पाङस्थित धैरेनी कुनाचौर सामुदायिक वन
गिद्धेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लालबहादुर पौडेलले पोखरी निर्माणपछि चरी बाघ, मृग, कालिज र खरायो जस्ता वन्यजन्तुलाई पिउने पानीको सहज पहुँच पुगेको बताउनुभयो । साथै, जङ्गलमुनि रहेका खेतबारीमा सिँचाइका लागि समेत यो उपयोगी भएको उहाँको भनाइ छ ।
सहायक वन अधिकृत भुवन थापाका अनुसार वर्षाको पानी सङ्कलन गरी सुक्खा मौसममा उपयोग गर्ने उद्देश्यले निर्माण गरिएका यी पोखरीले वातावरणीय सन्तुलन कायम राख्न र वन डढेलोको जोखिम न्यूनीकरण गर्न मद्दत पुग्नेछ । वन संरक्षणमा स्थानीय समुदायको सहभागितालाई थप प्रभावकारी बनाउन र जलस्रोतको संरक्षण गर्न यस कार्यक्रमले सकारात्मक योगदान पुर्याएको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा पनि दुईवटा सामुदायिक वनमा यस्तै पोखरीहरू निर्माण गरेको थियो । यस्ता संरचनाहरूले वन क्षेत्रको हरियाली प्रवर्द्धन र वन्यजन्तुको बासस्थान सुरक्षामा दीर्घकालीन टेवा पुग्ने देखिन्छ ।