गणेशकाे आत्मदाह सेलाउन नपाउँदै बुद्धनगरमा फेरी आत्मदाह प्रयास

काठमाडौँ, २७ असार । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीले गरेको आत्मदाहको घटना सेलाउन नपाउँदै बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले यस्तै आत्मघाती कदम चालेका हुन्।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार, राउतले शनिबार बिहान करिब ६:१५ बजे आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका थिए। घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी तत्काल उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राउतको शरीरको झण्डै ५० प्रतिशत भाग जलेको छ। उनको अवस्था गम्भीर रहेको र हाल ‘बर्न वार्ड’ मा सघन उपचार भइरहेको अस्पतालले जनाएको छ। ५० प्रतिशत जलनलाई चिकित्सा विज्ञानमा निकै चुनौतीपूर्ण र संवेदनशील मानिन्छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार स्थानीय छिमेकीहरूसँगको सोधपुछका क्रममा अघिल्लो दिन (शुक्रबार) राउतको आफ्नो छोरासँग सामान्य विवाद भएको बुझिएको छ। “श्रीमती र छोरा घरमा नभएको मौका पारेर उनले यो कदम चालेको देखिन्छ, घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ,” प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।