कालीकोटको गगनेखोलामा पहिरो: कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सयौँ सवारी साधनहरू अलपत्र

जुम्ला, २७ असार । अविरल वर्षाका कारण कालीकोटको गगनेखोलामा ठूलो पहिरो खस्दा कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । गएराति खसेको पहिरोका कारण उच्च हिमाली जिल्लाहरू जुम्ला र मुगुलाई सङ्घीय राजधानी तथा प्रदेश राजधानीसँग जोड्ने यो महत्वपूर्ण मार्ग बन्द भएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार, राजमार्ग सुचारु गर्न आज बिहान ३:०० बजेदेखि नै डोजर र लोडरसहितको प्राविधिक टोली परिचालन गरिएको छ । “पहिरोको प्रकृति ठूलो भएकाले सडक डिभिजन सुर्खेतसँग समेत समन्वय गरी दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ,” सिंहले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध भएपछि सुर्खेत र नेपालगञ्जबाट जुम्ला तथा मुगुका लागि छुटेका र ती जिल्लाहरूबाट बाहिरिन लागेका सयौँ सवारी साधनहरू गगनेखोला क्षेत्रमा अलपत्र परेका छन् । वर्षा जारी रहेकाले पहिरो पन्छाउने कार्यमा समेत समय–समयमा अवरोध पुगिरहेको छ ।

मनसुन सक्रिय रहेको र कर्णाली राजमार्गका विभिन्न खण्डहरू भौगर्भिक रूपमा संवेदनशील रहेकाले सडक डिभिजन कार्यालयले सार्वजनिक सूचनामार्फत विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।