दक्षिण कोरियामा नयाँ प्रणाली अन्तर्गत पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी
एजेन्सी, २८ असार । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणाली अन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ। तीव्र रूपमा बढिरहेको तापक्रमलाई मध्यनजर गर्दै अधिकारीहरूले सर्वसाधारणलाई बाहिरी गतिविधिहरू तत्काल रोक्न र शरीरलाई शीतल राख्न विशेष अपिल गरेका छन्।
नयाँ प्रणाली अनुसार कुनै पनि क्षेत्रमा महसुस गरिने तापक्रम कम्तीमा ३८ डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा ३९ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान भएमा, एक दिनका लागि भए पनि आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी गर्ने व्यवस्था गरिएको छ। पछिल्ला वर्षहरूमा अत्यधिक गर्मीको लहर लामो समयसम्म रहने र अझ तीव्र बन्दै गएकाले त्यसको प्रभावकारी व्यवस्थापनका लागि नयाँ चेतावनी प्रणाली लागू गरिएको अधिकारीहरूले बताएका छन्।
कोरिया मौसम विज्ञान प्रशासनकी प्रमुख ली मी–सोनका अनुसार आइतबार बिहान १० बजे दक्षिणी नर्थ ग्योङसाङ प्रान्तका ग्योङसान र पोहाङ सहरका लागि पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी गरिएको हो। सप्ताहन्तभर ती क्षेत्रमा तापक्रमले आपतकालीन चेतावनी जारी गर्ने मापदण्ड पूरा गरेको उनले जानकारी दिइन्।
“आपतकालीन हिटवेभ चेतावनीको अर्थ केवल मौसम अत्यधिक तातो हुनु मात्र होइन,” प्रमुख लीले भनिन्, “यसले स्वस्थ व्यक्तिलाई समेत गर्मीजन्य रोग वा मृत्युको उच्च जोखिममा पार्न सक्ने अवस्थालाई जनाउँछ।”
उनले आपतकालीन चेतावनी जारी भएका क्षेत्रमा बाहिरी गतिविधिहरू तुरुन्त रोक्न, शीतल स्थानमा बस्न तथा बालबालिका वा घरपालुवा जनावरलाई कुनै पनि अवस्थामा सवारी साधनभित्र एक्लै नछोड्न विशेष आग्रह गरेकी छिन्।