धरान–इटहरी सडकखण्डमा विद्युत् प्राधिकरणको सवारी दुर्घटना: चालकसहित दुईको मृत्यु, एक घाइते

सुनसरी, ३० असार । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत सेउती पुल नजिकै गएराति भएको सवारी दुर्घटनामा नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयका एक कर्मचारी र चालकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, धरानबाट इटहरीतर्फ जाँदै गरेको प्राधिकरणको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी सोमबार राति करिब ११:३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका चालक धरान–१३ का बिर्ख राई र प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्यलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले राति १२:४५ बजे दुवै जनालाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा धरान–२० का पदम राई घाइते हुनुभएको छ। उहाँको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ।

सुनसरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चन्द्रबहादुर खड्काले घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो। रातको समय, सम्भावित तीव्र गति वा सडकको अवस्थाका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।