प्रधानमन्त्री बालेन निरङ्कुश शैलीमा अघि बढेको कांग्रेस सचेतक राईको आरोप, ‘श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन?’
काठमाडौँ, ३० असार । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कसैले प्रश्न गर्न नपाउने निरङ्कुश शैलीमा अघि बढेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री शाहको कार्यशैली अधिनायकवादी हुँदै गएको दाबी गरे।
संसद्मा आक्रोश पोख्दै सचेतक राईले भने, “के अहिले श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन?” विगतमा ‘बोल्न दे सरकार’ र ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै हिँड्ने बालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै व्यक्ति हुन् कि होइनन् भनी उनले प्रश्न गरे। उनले प्रधानमन्त्री बनेपछि शाहले नागरिकका आधारभूत अधिकार र गुनासोहरूलाई दबाउन खोजेको टिप्पणी गरे।
सचेतक राईले गत सोमबार कांग्रेस नेता गगन थापाको निवास र विभिन्न स्थापित सञ्चारगृहका गेटअगाडि गाडी तेर्स्याएर बाटो अवरोध गरिएको घटनाप्रति कडा आपत्ति जनाए। “कांग्रेस नेता गगन थापा र मिडिया हाउसअगाडि नियोजित रूपमा गाडी तेर्स्याउने काम अलोकतान्त्रिक र राज्य आतङ्कको पराकाष्ठा हो,” उनले भने।
राज्य सञ्चालन अनधिकृत नेटवर्क र अदृश्य शक्तिहरूबाट निर्देशित हुन थालेको उनको आरोप थियो। सुरक्षा घेराभित्र रहेका अनधिकृत व्यक्तिहरूले सरकार चलाइरहँदा सत्ता पक्षका सांसदहरू मुखमा टेप लगाएर मौन बसेको भन्दै उनले संसद्को गरिमा जोगाउन सबैले जिम्मेवारीपूर्वक आवाज उठाउनुपर्नेमा जोड दिए।