कोशीमा पानीको बहाव सतर्कता तह नजिक, ब्यारेजका ५२ वटै ढोका खोल्ने तयारी

काठमाडौँ, ३ साउन । पूर्वी नेपालको पहाडी तथा हिमाली जलाधार क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण सप्तकोसी नदीको जलस्तरमा तीव्र वृद्धि देखिएको छ। जल तथा मौसम विज्ञान विभागले नदीको बहाव सोमबार बिहानसम्म ‘सतर्कता तह’ पार गर्ने पूर्वानुमान गर्दै तटीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन ‘अलर्ट’ जारी गरेको छ।

विभागकी बाढीविद् सरस्वती विष्टका अनुसार, आइतबार साँझसम्म कोशी नदीको जलसतह ४.७८ मिटर पुगेको छ। उपल्लो तटीय क्षेत्रमा वर्षा जारी रहेकाले बहाव निरन्तर बढ्दो क्रममा रहेको छ। “हाम्रो प्राविधिक विश्लेषण अनुसार सोमबार बिहानसम्म नदीले ६ मिटरको सतर्कता तह पार गर्ने सम्भावना छ,” विष्टले भन्नुभयो। ६ मिटर पुगेपछि सतर्कता र ७ मिटर नाघेपछि ‘खतराको तह’ मानिने प्राविधिक मापदण्ड रहेको छ।

सम्भावित मानवीय र भौतिक क्षति रोक्न सरकारी संयन्त्रहरूले ‘प्रो–एक्टिभ’ कदम चाल्न सुरु गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार, पानीको निकासलाई सहज बनाउन कोशी ब्यारेजका ५२ वटै मूल ढोकाहरू खोल्ने विषयमा सम्बन्धित प्राविधिक र सुरक्षा निकायसँग उच्चस्तरीय समन्वय भइरहेको छ।
“बाढीको अवस्थालाई हामीले ‘रियल–टाइम’ मोनिटरिङ गरिरहेका छौँ,” कोइरालाले भन्नुभयो, “पूर्वतयारी र आपत्कालीन प्रतिकार्य का लागि सबै संयन्त्रलाई ‘स्ट्यान्ड बाइ’ अवस्थामा राखिएको छ।”

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा ‘अति भारी’ वर्षाको प्रक्षेपण गरेकाले कोशी मात्र नभई यसका सहायक नदीहरूमा समेत आकस्मिक बाढी को जोखिम रहेको छ। प्रशासनले सुनसरी र सप्तरीका नदी तटीय बस्ती, टापु र होचा भू–भागमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन वा उच्च सतर्क रहन आग्रह गरेको छ।