चालु आवको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
काठमाडौँ, ६ साउन । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी निकायहरूलाई ४७ बुँदे बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ।
मन्त्रालयले गत सोमबार जारी गरेको मार्गदर्शनमा बजेट तथा कार्यक्रमलाई तोकिएको समयसीमाभित्र कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउन निर्देशन दिएको छ। साथै, स्रोत–साधनको मितव्ययी उपयोग गर्न तथा विकास आयोजनाको प्रगति नियमित रूपमा अनुगमन गर्नसमेत भनिएको छ।
मार्गदर्शनअनुसार सबै मन्त्रालय तथा निकायले स्वीकृत कार्यक्रम र बजेटलाई ‘लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम’ (एलएमबिआईएस) मा समयमै अद्यावधिक गर्नुपर्नेछ। यस्तै, खरिद योजना तथा वार्षिक कार्ययोजना आर्थिक वर्षको सुरुमै तयार गरी कार्यान्वयनमा लैजानुपर्ने तथा आयोजना कार्यान्वयनमा देखिने समस्याको तत्काल निरूपण गर्नुपर्ने व्यवस्था गरिएको छ।
बजेट विनियोजनको उद्देश्यअनुसार मात्र खर्च गर्न, फजुल खर्च नियन्त्रण गर्न र सार्वजनिक खरिद प्रक्रियालाई बढी प्रतिस्पर्धात्मक, पारदर्शी र समयबद्ध बनाउन मार्गदर्शनमा जोड दिइएको छ। विकास आयोजनाको भुक्तानी कार्यसम्पादनको भौतिक प्रगतिका आधारमा मात्र गर्न मन्त्रालयले निर्देश गरेको छ।
यसैगरी, राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोगमा ध्यान दिन तथा आर्थिक अनुशासन कायम गर्न सम्बन्धित निकायलाई विशेष निर्देशन दिइएको छ। बजेट कार्यान्वयनमा देखिने ढिलासुस्ती, कमजोर खर्च क्षमता र लक्ष्यअनुसारको प्रतिफल हासिल गर्न नसक्ने अवस्थालाई सुधार गर्ने उद्देश्यले मार्गदर्शन जारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ।