दाङको पानी ट्यांकीमा मृत फेला परेका दुवै जनाको पहिचान खुल्यो, निस्सासिएर मृत्यु भएको प्रहरीको अनुमान

दाङ, ६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–६, रजौरामा निर्माणाधीन घरको पानी ट्यांकीभित्र मृत फेला परेका दुवै जनाको पहिचान खुलेको छ। उनीहरूको ट्यांकीभित्र निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीका अनुसार मृत फेला परेकाहरू ३६ वर्षीय कमल गिरी र ३५ वर्षीय घनश्याम गिरी हुन्। उनीहरू नातामा दाजुभाइ हुन्। मृतक कमल सोही घर निर्माण गर्ने ठेकेदारसमेत रहेको प्रहरीले जनाएको छ।

डिएसपी पराजुलीले प्रारम्भिक अनुसन्धानबाट ट्यांकीभित्र अक्सिजनको कमी भई निस्सासिएर उनीहरूको मृत्यु भएको हुन सक्ने देखिएको जानकारी दिनुभयो। प्रहरीले दुवै जनाको शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।