अनुगमनलाई तिब्र बनाउँदै काठमाडौँ महानगर, आफैँ फिल्डमा खटेर गुणस्तरीय ढंगले समयमा काम सम्पन्न गर्न कावा मेयर डंगोलको निर्देशन
काठमाडौं, ६ साउन । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले आज टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र, काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणलगायतका स्थानको अनुगमन गर्नुभएको छ ।
आज उहाँले निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्रको अनुगमन गर्दै मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको उल्लेख गर्नुभयो । उहाँले निर्माणाधीन केन्द्रको बुधबार अवलोकनपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाइने बताउनुभयो । उहााले ३५ प्रतिशत काम सकिएको उल्लेख गर्नुभयो ।
‘हामी यो टेकुको बन्दै गरेको फोहोर स्थानान्तरण (ट्रान्सफर स्टेसन) केन्द्रमा छौँ। यो स्थानान्तरण केन्द्रको मुख्य उद्देश्य भनेको नै जैविक र अजैविक फोहोरलाई छुट्याउने हो । साथै, अजैविक फोहोरलाई यहाँबाट पुनःप्रयोगका लागि पठाइनेछ भने जैविक फोहोरलाई हामीले बञ्चरेडाँडामा लग्ने फोहोरसँगै पठाइनेछ,’ उहाँले भन्नुभयो, ‘अहिले धेरैजसो ठाउँमा खुला तरिकाले फोहोर छुट्याउने काम भइरहेको छ। तर यसरी खुला रूपमा फोहोर छुट्याउँदा प्रदूषण, जोखिम तथा अन्य धेरै पक्षबाट सुरक्षित हुँदैन। त्यसैले यसलाई व्यवस्थित गर्नका लागि यो स्थानान्तरण केन्द्र निर्माण भइरहेको हो।’ उहाँले जैविक फोहोरहरूलाई कम्पोष्ट मल बनाउन उपयोग गर्नेतर्फ पनि योजना बनाएको पनि बताउनुभयो ।
उहाँले निर्माणाधिन भवनको अनुगमन गर्ने क्रममा भवन निर्माण सुरु भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिनुभयो । भवन निर्माण गत चैत २२ गतेदेखि भवन निर्माणको कार्य सुरु भएको हो । हाल बेसमेन्ट निर्माण सम्पन्न भएर बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको छ । डंगोलले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।