भोटेकोशी बाढी: १६२ जनाको शव फेला

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बिहीबार बिहान ५:०० बजेसम्म विभिन्न आठ जिल्लाबाट १६२ जनाको शव फेला परेको छ ।

बाढीको बहावसँगै शवहरू बगेर तल्लो तटीय क्षेत्रसम्म पुगेका कारण रसुवाभन्दा बाहिरी जिल्लाहरूमा मृतकको सङ्ख्या धेरै देखिएको हो ।
प्रहरी बुलेटिनअनुसार जिल्लागत रूपमा फेला परेका शवहरूको विवरण यसप्रकार छ :
चितवन : ६४ जना, धादिङ : २७ जना, नवलपरासी पूर्व : २६ जना, गोरखा : २० जना, नुवाकोट : १२ जना, तनहुँ : ९ जना, रसुवा : २ जना, नवलपरासी पश्चिम : २ जना रहेका छन् ।

बाढीका कारण ठुलो सङ्ख्यामा मानिसहरू अझै बेपत्ता रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले प्रभावित जिल्लाहरूमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् ।

नदी किनारका क्षेत्रहरूमा शव फेला पर्ने क्रम जारी रहेकाले स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र कुनै जानकारी पाएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *