मुस्ताङको स्याउको गुणस्तर जोगाउन कटानी कार्यतालिका सार्वजनिक : भदौ १५ पछि मात्रै टिप्न पाइने

काठमाडौँ, भदौँ ११ । हिमाली जिल्ला मुस्ताङको पहिचानको रूपमा रहेको स्याउको गुणस्तर र साख जोगाउन यस वर्षको स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको छ । नपाक्दै स्याउ टिपेर बजार पठाउँदा गुणस्तर खस्किएको र उपभोक्ताको गुनासो बढेको भन्दै जिल्ला समन्वय समिति मुस्ताङले निश्चित मिति तय गरेको हो ।

भदौ १५ देखि संकलन सुरु
सार्वजनिक कार्यतालिका अनुसार छिटो पाक्ने जातका स्याउहरू यही भदौ १५ गतेदेखि मात्रै टिप्न पाइनेछ । त्यसैगरी, ढिलो पाक्ने (रोयल डेलिसियस आदि) जातका स्याउहरू भने भदौ २२ गतेपछि मात्रै बजार पठाउनका लागि बोटबाट खसाल्न सकिने निर्णय भएको छ ।

कृषि तथा पशु सेवा विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार यो कार्यतालिका कार्यान्वयनका लागि जिल्लाका सबै स्थानीय तह, कृषक र व्यापारीहरूलाई आधिकारिक रूपमा पत्राचार तथा अनुरोध गरिएको छ। मुस्ताङमा हाल स्थानीय र हाइब्रिड दुवै प्रजातिका स्याउको व्यावसायिक खेती हुँदै आएको छ ।

गुणस्तर कायम राख्न कडाइ
स्याउको सिजन सुरु हुनुअगावै व्यापारीहरूले बगान नै ठेक्का लिएर अग्रिम पैसा बुझाउने गरेका छन् । लगानी उठाउने हतारोमा व्यापारीले काँचो स्याउ नै बजार पुर्‍याउँदा मुस्ताङको स्याउको मौलिक स्वाद र गुणस्तरमा प्रश्न उठ्न थालेको थियो ।

जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले भन्नुभयो, “कतिपय कृषक र व्यापारीले बढी मुनाफा कमाउने उद्देश्यले हतार-हतार बजार पुर्‍याउँदा उपभोक्ताले गुनासो गर्ने गरेका थिए। त्यसैले, सबै सरोकारवालासँगको छलफलपछि गुणस्तर कायम राख्न यो तालिका अनिवार्य गरिएको हो ।”

त्यसैगरी, घरपझोङ-५ ठिनीका वडाध्यक्ष प्रदीप थकालीले मुस्ताङको स्याउको ब्रान्ड र पहिचान जोगाउन सबै पक्षले यो निर्णयलाई पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्बको कारोबार
मुस्ताङको अर्थतन्त्रको मुख्य आधार मानिने स्याउ खेतीबाट वर्षेनी करोडौँको कारोबार हुने गरेको छ । कृषि कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष मुस्ताङमा करिब एक अर्ब रुपैयाँ बराबरको स्याउ उत्पादन भएको थियो। यस वर्ष पनि स्याउको सिजन सुरु भएसँगै देशभरबाट व्यापारीहरू मुस्ताङ पुग्न थालेका छन् ।