कोरियन भाषा परीक्षाका लागि साउन ११ देखि आवेदन खुल्ने, ७ हजार बढी कोटा (सूचनासहित)

काठमाडौँ, ७ साउन । दक्षिण कोरियामा रोजगारीका लागि जान चाहने नेपाली युवाहरूका लागि सरकारले कोरियन भाषा परीक्षा (ईपीएस–टोपिक) को आवेदन खुला गरेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै आगामी साउन ११ गतेदेखि आवेदन सङ्कलन सुरु हुने जानकारी दिएको हो ।

शाखाका अनुसार इच्छुक आवेदकले साउन ११ गतेदेखि १७ गते (जुलाई २७ देखि अगस्ट २) सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदनका लागि विभागको आधिकारिक वेबसाइटमा गएर फारम भर्नुपर्नेछ । वेबसाइटको पहिलो पृष्ठमै आवेदन भर्ने प्रक्रिया सम्बन्धी जानकारीमूलक ‘डेमो भिडियो’ समेत राखिएको शाखाले जनाएको छ ।

आवेदन दिँदा अनिवार्य रूपमा ईमेल ठेगाना, मोबाइल नम्बर र तोकिएको मापदण्डको फोटो हुनुपर्नेछ । भाषा परीक्षाका लागि आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ । उक्त शुल्क फारम बुझाउने दिनको विनिमय दर अनुसार अनलाइन भुक्तानी सेवामार्फत बुझाउन सकिनेछ । आवेदन सङ्कलन सकिएपछि मात्र परीक्षाको विस्तृत तालिका र मिति सार्वजनिक गरिनेछ ।

कुन क्षेत्रमा कति कोटा ?
यस पटक कुल ७ हजार २०० कोटाका लागि परीक्षा सञ्चालन गर्न लागिएको हो । जसको बाँडफाँट निम्नानुसार गरिएको छ:
उत्पादनमूलक क्षेत्र: ५,००० जना
कृषि तथा पशुपालन क्षेत्र: २,००० जना
सेवा क्षेत्र: १०० जना
वन क्षेत्र: १०० जना

को–को हुन सक्छन् सहभागी ?
परीक्षामा सहभागी हुनका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, कुनै पनि फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसोबास गरी निष्कासनमा नपरेको र नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको व्यक्ति हुनुपर्नेछ । यसअघि कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्ष वा सोभन्दा बढी समय बसेका व्यक्तिहरूले भने आवेदन दिन पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *