बागमती, गण्डकी र लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ८ साउन । नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । जसका कारण अहिले देशभरिको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली र तराईमा आंशिक बदली रहने जनाएको छ । पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

यस्तै, तराईका जिल्लाहरूमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभरको मौसममा सुधार हुने देखिँदैन । राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षा हुने महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।

भारी वर्षा हुन सक्ने क्षेत्रहरूमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहने हुनाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । वर्षाका कारण यातायात र दैनिक जनजीवनमा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक तयारी अपनाउन महाशाखाले सूचित गरेको छ ।