सशस्त्र प्रहरी स्कूल आर्थिक हिनामिना प्रकरण : लेखा अधिकृत र व्यवसायीलाई १० दिन हिरासतमा राख्न आदेश
काठमाडौँ, १० साउन । विशेष अदालतले सशस्त्र प्रहरी बल स्कूल कीर्तिपुरको आर्थिक अपचलन सम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा लेखा अधिकृत कल्पना गुरुङ र व्यवसायी लीलाबहादुर लामालाई १० दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आज सो आदेश दिएको हो । अदालतको आदेशसँगै दुवै जनालाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा पठाइएको विशेष अदालतले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक एवं स्कूलकी लेखा अधिकृत गुरुङ र एमडी एडभेञ्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लामालाई गत असार २० गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरूमाथि स्कूलको कोषमा रहेको रकम हिनामिना गरेको आरोप छ ।
जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको पत्रअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ बमोजिमको कसुरमा अनुसन्धान गर्न उनीहरूलाई गत साउन ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो । आयोगले थप अनुसन्धान र प्रमाण सङ्कलनका लागि समय माग गरेपछि अदालतले म्याद थपको आदेश दिएको हो ।