साउनको दोस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ, ११ साउन । साउन महिनाको दोस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको ठुलो घुइँचो लागेको छ । साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको पूजा–आराधनाका लागि मन्दिर पुगेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनको सहजताका लागि आज बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको छ । कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले दर्शनार्थीको सुरक्षा र व्यवस्थापनका लागि विशेष प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । अघिल्लो सोमबारको तुलनामा आज व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको कोषको दाबी छ ।

मन्दिर परिसरमा शान्ति सुरक्षा कायम गर्न र दर्शनार्थीलाई लाइनमा व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र नगर प्रहरीका साथै ठुलो सङ्ख्यामा स्वयंसेवकहरू परिचालन गरिएको छ । कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार मन्दिर छिर्न चारवटा लामको व्यवस्था गरिएको छ र बिहानैदेखि भक्तजनको लर्को लागे पनि लाइन छिटो सर्ने व्यवस्था मिलाइएको छ ।

आज मन्दिर बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछ । विशेष पूजाका लागि भने बिहान ८:३० देखि मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरिएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचार र खानेपानीको समेत व्यवस्था गरिएको छ ।

पशुपतिनाथका अतिरिक्त काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेव (सानो पशुपतिनाथ) मा पनि बिहानैदेखि भक्तजनको भिड लागेको छ । यसैगरी, उपत्यका बाहिरका प्रसिद्ध शिवालयहरूमा पनि साउनको सोमबार विशेष पूजा र दर्शन गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ । साउनको सोमबार भगवान् शिवको व्रत बसी पूजा गर्नाले पारिवारिक सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।