मुलुकको पहिलो सुरुङमार्ग ‘नागढुङ्गा-सिस्ने खोला’ को आज औपचारिक उद्घाटन गरिँदै
काठमाडौँ, साउन ११ । नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्गको रूपमा रहेको ‘नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग’को आज औपचारिक उद्घाटन गरिँदैछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका उच्च अधिकारीहरूको उपस्थितिमा आज बिहान १०:२५ बजे सुरुङमार्गको उद्घाटन हुने कार्यक्रम तय गरिएको छ ।
उद्घाटन समारोह पश्चात् निर्माण पक्षले सुरुङमार्ग औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर आवागमनको शुभारम्भ गर्नुहुनेछ । प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकाय र अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेश दिइने र केही दिनको प्राविधिक तथा सुरक्षा परीक्षण पश्चात् मात्र सबै वर्गका सवारीसाधनका लागि मार्ग खुल्ला गरिने आयोजनाले जनाएको छ । परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन ।
सवारी शुल्क र प्रतिबन्ध
सडक विभागका अनुसार २,६८८ मिटर लामो यस सुरुङमार्ग प्रयोग गरे बापत सवारीसाधनको प्रकृति अनुसार निश्चित शुल्क तोकिएको छ ।
कार र भ्यान : काठमाडौँ भित्रिँदा ६५ रुपियाँ र बाहिरिँदा ६० रुपियाँ
मिनीबस, ट्रक र टिपर : काठमाडौँ भित्रिँदा ११५ रुपियाँ र बाहिरिँदा ८० रुपियाँ
बस र ठूला ट्रक : काठमाडौँ भित्रिँदा २६० रुपियाँ र बाहिरिँदा २०० रुपियाँ
सुरक्षाका दृष्टिकोणले पैदलयात्री, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई सुरुङमा प्रवेश निषेध गरिएको छ । साथै, पेट्रोलियम पदार्थ, ग्यास जस्ता प्रज्ज्वलनशील एवं विस्फोटक सामग्री बोकेका सवारीसाधनले पनि सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् ।
प्राविधिक पक्ष र सुरक्षा व्यवस्था
जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यस आयोजनामा मुख्य र उद्धार गरी दुईवटा सुरुङ रहेका छन् । परामर्शदाता संस्था ‘निप्पन कोइ’ का इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङभित्र अत्याधुनिक सुरक्षा संयन्त्र जडान गरिएको छ । यसमा सिसीटिभी क्यामेरा, सञ्चार प्रणाली, दमकल, आकस्मिक उद्धार टोली र अक्सिजनको निरन्तर प्रवाह जस्ता सुविधाहरू उपलब्ध छन् । सवारी चालकहरूले विद्युतीय माध्यमबाट समेत महसुल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
लगानी र उपलब्धि
काठमाडौँको चन्द्रागिरि (दहचोक) देखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गाको जाम र उकालो बाटो छिचोल्न लाग्ने झन्डै एक घण्टाको समय बचत हुने र इन्धन खपतमा समेत कमी आउने अपेक्षा गरिएको छ । यस आयोजनामा जापान सरकारको २१ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपियाँ गरी कुल २७ अर्ब रुपियाँ लगानी भएको छ । कोरोना महामारी र केही प्राविधिक जटिलताका कारण लक्ष्यभन्दा केही ढिलो गरी यो महत्वपूर्ण पूर्वाधार निर्माण सम्पन्न भएको हो ।