दिगो कृषि र वातावरण संरक्षणका लागि नेपालमा जापानी प्रविधि र लगानी भित्रिँदै
काठमाडौँ, साउन ११ । नेपालको दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण तथा ऊर्जा बचतका क्षेत्रमा अत्याधुनिक जापानी प्रविधि भित्र्याउने लक्ष्यका साथ ८० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरिएको छ । काठमाडौँमा सन्दिपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङद्वारा आइतबार आयोजित ‘जापान टु नेपालः इनोभेट, इन्टिग्रेट एन्ड इन्सपायर’ कार्यक्रममा विभिन्न जापानी कम्पनीहरूले नेपालमा हरित प्रविधि र आर्थिक साझेदारीका नयाँ सम्भावनाहरू प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले नेपाल र जापानबीचको यो प्रविधिमा आधारित सहकार्यले दिगो आर्थिक विकास, कृषि आधुनिकीकरण र वातावरण संरक्षणमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रबीचको यस्तो सहकार्यलाई लगानी, रोजगारी र नवप्रवर्तनसँग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो । यसैगरी सन्दिपानी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नरेशचन्द्र ओझाले यो सहकार्य केवल व्यापारिक सम्बन्धमा मात्र सीमित नभई भविष्य निर्माण गर्ने र नेपालमा नयाँ व्यवसायिक अवसर सृजना गर्ने साझा अभियान भएको उल्लेख गर्नुभयो ।
जापानी कम्पनीका प्रतिनिधिहरूले नेपालमा भित्र्याउन लागिएका विभिन्न विशिष्ट प्रविधिहरूबारे विस्तृत जानकारी गराएका थिए । जापानको ट्रिम कम्पनी लिमिटेडका अध्यक्ष त्सुबोई इवाओले पुनः प्रशोधित सिसाबाट उत्पादन हुने ‘सुपर सोल’ नामक सामग्रीको उपयोगिता प्रष्ट पार्दै यसलाई कृषि, निर्माण र जल शुद्धीकरणमा प्रयोग गरी फोहरलाई स्रोतमा रूपान्तरण गर्न सकिने बताउनुभयो । त्यस्तै, डाएएई कम्पनी लिमिटेडका अध्यक्ष मोरिता मिचिओले पानीमा उच्च मात्रामा अक्सिजन घोल्ने ‘अक्सिजन फिल्टर’ प्रविधिबारे प्रस्तुति दिँदै यसले मत्स्यपालन र नदी तथा तालको शुद्धीकरणमा ठूलो सहयोग पुग्ने जानकारी दिनुभयो ।
ऊर्जा बचत र सरसफाइका क्षेत्रमा पनि महत्वपूर्ण प्रविधिहरू भित्रिने क्रममा रहेका छन् । कोदु जापानका अध्यक्ष कोशाकाइ तोशियाकीले गुणस्तरीय र ऊर्जा बचत गर्ने सुपर लिड प्रविधिलाई आगामी तीन वर्षभित्र देशभर विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो भने मितोमी कम्पनीका अध्यक्ष तानाका योनेकाजुले न्यून पानीको प्रयोग हुने दिगो चर्पी प्रणालीमार्फत वातावरणमैत्री सरसफाइ प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो ।
लगानीको दृष्टिकोणले हेर्दा यी प्रस्तावित परियोजनाहरूमा उल्लेख्य रकम परिचालन हुने देखिएको छ । कार्यक्रममा दिइएको जानकारी अनुसार सुपर सोलमा ५० करोड, सुपर लिडमा २५ करोड, अक्सिजन फिल्टरमा १५ करोड र अन्य वातावरणमैत्री प्रविधिहरूमा गरी करिब ८० करोड रुपैयाँभन्दा बढीको लगानी हुने सम्भावना रहेको छ । यी प्रविधिहरूको प्रयोगबाट नेपालमा कृषि उत्पादन वृद्धि, ऊर्जा दक्षता अभिवृद्धि र दिगो पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।