सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, झडपमा मृत्यु हुनेकाे सङ्ख्या दुई पुग्यो

सुनसरी, ११ साउन । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा जारी कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि सुरक्षा व्यवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।

स्थानीय प्रशासनका अनुसार स्थिति नियन्त्रण बाहिर जान नदिन नेपाली सेनाको टोलीलाई हतियारसहित मैदानमा उतारिएको हो। सेना परिचालन गरिएसँगै सो क्षेत्रको सुरक्षा अवस्था क्रमशः नियन्त्रणमा आउँदै गएको सुनसरी प्रहरीले जनाएको छ। हाल जिल्लाको शान्ति सुरक्षा कायम राख्न ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ।

यसैबीच, आइतबार राति दुई समूहबीच भएको उक्त हिंसात्मक झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ। झडप र प्रहरी कारबाहीका क्रममा गोली लागेर एक जनाको आइतबार राति नै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका अर्का एक जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा स्थिति सामान्य बनाउन र सामाजिक सद्भाव कायम राख्न जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय र धार्मिक अगुवाहरू सम्मिलित सर्वपक्षीय छलफल जारी रहेको छ।