कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित, तीन दिन पार्टीको झण्डा आधा झुकाइने

काठमाडौँ, १३ साउन । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। ललितपुरको जावलाखेलस्थित हेलिस अस्पतालमा ७९ वर्षको उमेरमा मङ्गलबार निधन हुनुभएका नेता श्रेष्ठको सम्मानमा कांग्रेसले विभिन्न शोक कार्यक्रमहरू सार्वजनिक गरेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बुधबार बसेको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। बैठकअघि स्वर्गीय श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो, जहाँ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आकस्मिक बैठकले साउन १३, १४ र १५ गते तीन दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

यसैगरी, साउन १४ गतेका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द रहनेछन् भने १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राखिनेछ। श्रेष्ठको १३औँ दिनको पुण्य तिथिमा उहाँको गृहजिल्ला स्याङ्जाको कालीगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोकसभाको आयोजना गरिने जनाइएको छ।

नेपालको लोकतन्त्र स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका विभिन्न सङ्घर्ष र आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता श्रेष्ठ ऐतिहासिक १२ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्येका एक हुनुहुन्थ्यो। राजनीतिक आन्दोलनका क्रममा उहाँले पटक–पटक गरी छ वर्ष जेलजीवन बिताउनुभएको थियो।

स्वर्गीय श्रेष्ठ विसं २०४८, २०५६ र २०६४ मा स्याङ्जा जिल्लाबाट प्रतिनिधि सभा सदस्य र विसं २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा आपूर्ति र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो।