स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
काठमाडौँ, १५ साउन । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । स्मार्ट टेलिकमको इजाजतपत्र खारेजी र सम्पत्ति व्यवस्थापन सम्बन्धी विवादित प्रकरणमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भण्डारीलाई गएराति ललितपुरको धापाखेलस्थित उनकै निवासबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराले भण्डारीलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
पक्राउ परेका भण्डारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको ब्यूरोले जनाएको छ ।
स्मार्ट टेलिकमको अर्बौँ रुपैयाँ बराबरको बक्यौता र त्यसपछिको सम्पत्ति हस्तान्तरणको प्रक्रियामा भण्डारीको भूमिका र पदको दुरुपयोगबारे उजुरी परेपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो । भण्डारी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष हुनुअघि विभिन्न विवादास्पद निर्णय र नियुक्तिमा मुछिएको आरोप लाग्दै आएको थियो । उनको कार्यकालमा भएका कतिपय नीतिगत निर्णयहरूमा समेत सीआईबीले अध्ययन गरिरहेको बताइएको छ ।