अनलाइनबाट बिक्री भइरहेका सयभन्दा बढी नक्कली उत्पादन विभागद्वारा नियन्त्रणमा
काठमाडौँ, १७ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सामाजिक सञ्जाल र विभिन्न अनलाइन प्लेटफर्ममार्फत बिक्रीवितरण भइरहेका एक सयभन्दा बढी शङ्कास्पद नक्कली उपभोग्य उत्पादनहरू नियन्त्रणमा लिएको छ।
विभागको बजार अनुगमन टोलीले अनलाइन माध्यमबाट उपभोक्तालाई लक्षित गरी बिक्री गरिएका विभिन्न प्रकारका कपालमा लगाउने तेल, स्याम्पु, चिया र स्वास्थ्य पूरक आहार (फूड सप्लिमेन्ट) लगायतका दैनिक उपभोग्य वस्तुहरू नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ती वस्तुहरूको गुणस्तर, मौलिकता र उपभोग योग्यता सुनिश्चित गर्न प्रयोगशालामा परीक्षण भइरहेको विभागले जनाएको छ।
उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि बजार अनुगमनलाई थप तीव्र बनाइएको विभागका महानिर्देशक मोतिराम सापकोटाले जानकारी दिनुभयो। प्रयोगशालाको परीक्षण प्रतिवेदनका आधारमा दोषी देखिएका उत्पादक वा बिक्रेतामाथि उपभोक्ता संरक्षण ऐनबमोजिम आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो।
विभागले बजारमा शङ्कास्पद वा नक्कली उत्पादन बिक्रीवितरण भइरहेको फेला परेमा विभागलाई तुरुन्त जानकारी गराउन उपभोक्ताहरूसँग आग्रह गरेको छ।