जमलको डुबान समस्या सुल्झाउन कार्यवाहक प्रमुख सुनिता डंगोलको रणनीतिक नेतृत्व : प्राविधिक अध्ययनपछि स्थायी समाधानको मार्गचित्र तयार
काठमाडौँ, साउन २१ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको रणनीतिक नेतृत्व र विशेष सक्रियतामा जमल क्षेत्रको वर्षौँदेखिको डुबान समस्या समाधानका लागि ठोस प्राविधिक कार्ययोजना तयार पारिएको छ । जमल क्षेत्रमा वर्षायाममा हुने डुबानको प्राविधिक कारण पत्ता लगाई स्थायी समाधान खोज्न कार्यवाहक प्रमुख डंगोलले दिनुभएको विशेष निर्देशन र सक्रियता पश्चात् गठित प्राविधिक टोलीले पूर्वाधारको असन्तुलित क्षमता नै यस क्षेत्रको मुख्य समस्या रहेको निष्कर्षसहितको प्रतिवेदन प्रस्तुत गरेको हो । कार्यवाहक प्रमुख डंगोलले विकास साझेदार निकायहरूलाई एकीकृत गरी स्थलगत अध्ययन गराउनुभएपछि जमलमा पानी भित्रिने बाटो धेरै भएको तर बाहिरिने बाटो अत्यन्त सानो हुँदा ‘बोटलनेक’ को स्थिति सिर्जना भएको तथ्य सार्वजनिक भएको छ ।
प्राविधिक विश्लेषण अनुसार जमल चोकमा ज्याठा, निर्वाचन आयोग, यल्लो प्यागोडा होटल र जनप्रशासन क्याम्पस गरी चारवटा मुख्य दिशाबाट आउने पानीका पाइपहरू एकत्रित हुँदा कूल प्रवाह क्षेत्रफल ०.८२६ वर्गमिटर देखिए पनि त्यसलाई निकास दिनका लागि राखिएको पाइपको क्षमता भने मात्र ०.२८३ वर्गमिटर रहेको पाइएको छ। यसरी भित्रिने पानीको तुलनामा निकासको बाटो करिब तीन गुणाले साँघुरो भएकाले थोरै वर्षामा पनि जमल क्षेत्र जलमग्न हुने गरेको प्रतिवेदनले औँल्याएको छ । साथै, निकासको अन्तिम विन्दु र टुकुचा खोलाको पानीको सतह बीचको उचाइमा निकै कम अन्तर रहेकाले ठूलो वर्षा हुँदा खोलाको पानी उल्टै ढलको पाइपभित्र पसेर अवरोध सिर्जना गर्ने गरेको समेत देखिएको छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा भएको यस पहल अन्तर्गत समस्या समाधानका लागि तत्काल, मध्यकालीन र दीर्घकालीन गरी तीन तहका योजनाहरू सिफारिस गरिएका छन् । तत्कालका लागि जमलदेखि केशरमहलसम्म क्याचपिटको संख्या थप्ने, ढल प्रणालीमा थुप्रिएका गेग्रान र फोहोर नियमित सफा गर्ने तथा टुकुचा खोलाको बहाव सहज बनाउने योजना बनाइएको छ । त्यस्तै, मध्यकालीन उपायका रूपमा हालको सानो निकास पाइपलाई विस्थापित गरी ठूलो क्षमताको ‘ट्रंक लाइन’ निर्माण गर्ने र जमलको मुख्य चोकमा पानीको चाप कम गर्न डाइभर्सन प्रणाली मार्फत पानीको केही हिस्सा अन्यत्र मोड्ने रणनीति लिइएको छ ।
यसैगरी दीर्घकालीन समाधानका लागि कार्यवाहक प्रमुखको योजनामा एकीकृत सहरी विकास र वातावरणमैत्री ढल व्यवस्थापनको मोडल प्रस्ताव गरिएको छ, जस अन्तर्गत जमल क्षेत्रका भवनहरूमा ‘रेन वाटर हार्भेस्टिङ’ र ‘ग्राउन्ड वाटर रिचार्ज’ प्रणालीलाई अनिवार्य गर्ने सोच राखिएको छ । सडकको सतहमा जम्मा हुने वर्षाको पानीलाई छुट्टै ढल प्रणाली मार्फत व्यवस्थापन गर्ने र त्यस्तो पानीलाई प्रशोधन गरी रानीपोखरी जस्ता जलाशयहरूमा पुनःभरण गर्ने दीर्घकालीन लक्ष्य प्रतिवेदनमा समावेश छ। कार्यवाहक प्रमुख डंगोलको यो रणनीतिक तत्परता र समन्वयात्मक भूमिकाले जमल क्षेत्रको डुबान समस्याको स्थायी समाधान हुने र महानगरवासीले सास्तीबाट मुक्ति पाउने विश्वास गरिएको छ ।