५ प्रदेशमा वर्षाको सम्भावना, बाढी र पहिरोबाट सतर्क रहन चेतावनी

काठमाडौँ, २७ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशभर मनसुनी गतिविधि जारी रहनेछ।

हाल देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहेको छ। अहिले कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस र कोशीका तराई क्षेत्रमा बादल लागे पनि सुदूरपश्चिम, लुम्बिनी र गण्डकीको तराई भागमा भने अहिले मौसम सफा छ।

देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, उच्च हिमाली क्षेत्रमा मध्यम वर्षाका साथै हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

देशभर बदलीको अवस्था कायमै रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू-भागमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेशका थोरै स्थानमा पनि पानी पर्ने महाशाखाले जनाएको छ।