‘जनताले अन्त भोट हालेर गल्ती गरे, अब त्यसलाई सच्याउनुपर्छ’ : एमाले अध्यक्ष ओली
विराटनगर, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा जनताले एमालेलाई छाडेर अन्यत्र मतदान गरी गल्ती गरेको टिप्पणी गर्नुभएको छ। झापामा ‘मिसन जनजागरण’ अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश र जनताको हितमा काम गर्ने शक्तिलाई चिन्न नसक्दा यस्तो अवस्था आएको दाबी गर्नुभयो।
अध्यक्ष ओलीले जनताले गरेको गल्ती सच्याउन एमाले पुनः जनताकै बीचमा जानुपर्ने बताउनुभयो। “जनताले गरेको गल्ती पनि सच्याउनु पर्नेछ र हामीले पनि आफूलाई सुधारेर अगाडि बढ्नुपर्नेछ,” उहाँले भन्नुभयो, “यसका लागि पार्टीभित्र बलियो एकता आवश्यक छ।” उहाँले अहिलेको समय गुटबन्दी गर्ने नभई ‘पुनर्जागरण’ गर्ने बेला भएकोमा जोड दिनुभयो।
पार्टीभित्र भइरहेको आन्तरिक खिचातानीप्रति आक्रामक देखिनुभएका ओलीले नेतृत्व फेर्ने बहसलाई ‘कुत्सित मनसाय’ को संज्ञा दिनुभयो। “राधे–राधे र सिया रामको ओढ्ने ओढ्ने, अनि भित्रभित्रै छुरा रोप्ने कामलाई पुनर्गठन भन्न मिल्दैन,” उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो, “कार्यकर्ताले अध्यक्ष फेर्ने कुरा गरेका छैनन्, केही मान्छेहरू मात्रै स्वार्थका लागि यसमा लागेका छन्।”
उहाँले पुनर्गठन भनेको नीति, गन्तव्य र कार्यक्रम नयाँ बनाउने कुरा भएको भन्दै अहिले एमालेलाई पुनर्गठन भन्दा पनि जागरणको आवश्यकता रहेको स्पष्ट पार्नुभयो।
अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते भएको आन्दोलन (जेनजी आन्दोलन) लाई ‘हुल्लडबाजी’ मार्फत सत्ता कब्जा गर्ने असफल प्रयासको रूपमा व्याख्या गर्नुभयो। देश जलाएर गरिएको उक्त आन्दोलनलाई फागुन २१ को निर्वाचनको ‘तमासा’ मार्फत वैधता दिन खोजिएको उहाँको आरोप छ।
प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा अन्य दलहरूले एमालेलाई मात्रै कमजोर पार्न खोजेको भन्दै उहाँले आलोचना गर्नुभयो। “चुनावलाई एमालेका लागि खनिएको खाल्डो ठानेर खुसी हुने दलहरू अहिले आफैँ त्यही खाल्डोमा फसेका छन्,” ओलीले भन्नुभयो।
पार्टीलाई तल्लो तहसम्मै गतिशील बनाउन र हराएको जनमत पुनः प्राप्त गर्न एमालेले ‘मिसन जनजागरण’ अभियानलाई देशव्यापी बनाउने योजना अघि सारेको छ।
