राहदानी खरिदको विषयमा प्रधानमन्त्री साहलाई संसदीय समितिमा बोलाएर छलफल गर्ने सांसद इस्तियाकको प्रस्ताव
काठमाडौं, ४ भदौ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले राहदानी खरिदको विषयमा प्रधानमन्त्री बालेन साहलाई संसदीय समितिमा बोलाएर छलफल गर्ने प्रस्ताव राखेका छन् । नेकपा (एमाले)का सांसद मोहम्मद इस्तियाक राईले यस्तो प्रस्ताव राख्नु भएको हो ।
अधिकांश सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालयको शाखा नभएकाले आफ्नो संवैधानिक हैसियत र आँट कायम राख्न् सुझाव दिएका थिए । राईले भन्नुभयो– ‘पासपोर्ट खरिदको विषय बाहिर जो आयो यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्छ ।’
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार मिचेर सरकारले आफू मातहत छुट्टै सम्पत्ति छनबिन आयोग गठन गरिएको विषयमा पनि जवाफ दिनुपर्ने बताउनुभयो । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यमा बोलाएर सात घण्टासम्म केरकार गरेको विषय बाहिर आएको छ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री कार्यालयमा घन्टौंसम्म राखेर केरकार गरेको भनेर प्रश्न उठेको प्रति संकेत गर्दै उहाँले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो ।