बौद्ध दर्शनमा जीवन, चेतना र पुनर्जन्मबारे विद्वान्हरूको विमर्श

काठमाडौँ, ६ भदौ । बौद्ध दर्शनका ज्ञाताहरूले हिमाली बौद्ध परम्परामा जीवन, चेतना, मृत्यु र पुनर्जन्मको गहन अर्थ र अन्तरसम्बन्ध रहेको बताउनुभएको छ । नेपाल समाज मिडिया प्रालिद्वारा आज राजधानीमा आयोजित एक विशेष कार्यक्रममा बौद्ध विद्वान्हरूले बुद्ध दर्शनका यी विविध पक्षमाथि सैद्धान्तिक तथा व्यावहारिक स्पष्टता पार्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बौद्ध गुरु नामग्याल रिन्पोछेले भगवान् बुद्धले प्रतिपादन गर्नुभएको धर्म नै मनलाई शान्त र शुद्ध पार्ने मुख्य माध्यम भएको बताउनुभयो । उहाँले बुद्धको सन्देशलाई आत्मसात् गर्दै मानिसले आफ्नो वर्तमान र भावी जीवनलाई सुखद बनाउन सत्मार्गमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल बौद्ध महासङ्घका अध्यक्ष गेसे थुप्तेन जिन्पाले ‘चेतना, मृत्यु र पुनर्जन्मसम्बन्धी बौद्ध अवधारणा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पुनर्जन्मलाई मानसिक शुद्धता र करुणासँग जोडेर व्याख्या गर्नुभयो । “मानिसमा हुने जन्मजात प्रतिभा, बुद्धिमत्ता र रुचिहरू पूर्वजन्मका संस्कार र चेतनाका परिणाम हुन्,” उहाँले भन्नुभयो, “बौद्ध दर्शनले चेतनाको प्रकृति र त्यसको कारणलाई वैज्ञानिक ढङ्गले विश्लेषण गर्दछ ।”

त्यसैगरी, महासङ्घका पूर्वअध्यक्ष आचार्य नुर्बु शेर्पाले ‘मनको प्रकृति र पुनर्जन्मसम्बन्धी बौद्ध दृष्टिकोण’ प्रस्तुत गर्दै पुनर्जन्मलाई कर्मद्वारा निर्देशित चेतनाको निरन्तर प्रवाहका रूपमा परिभाषित गर्नुभयो । उहाँले असल कर्मले सुखद र खराब कर्मले दुःखद परिणाम निम्त्याउने भएकाले कर्म र पुनर्जन्म एकअर्काका पूरक रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा भुटानका डा. कर्मा फुन्छोक र खेन्पो जामयाङ लोड्रोले पनि मन, कर्म र पुनर्जन्मका विभिन्न आयामबारे आ–आफ्ना शोधपत्रहरू प्रस्तुत गर्नुभएको थियो । विद्वान्हरूले बौद्ध दर्शन केवल पूजापाठ मात्र नभई जीवन र जगतलाई बुझ्ने एक विशिष्ट चिन्तन पद्धति भएको औँल्याउनुभयो ।

आयोजक संस्था नेपाल समाज मिडिया प्रालिका अध्यक्ष ध्रुव पौडेलले समाजमा बौद्ध दर्शनको महत्त्वलाई अझ व्यापक बनाउन आगामी दिनमा ‘समाजवाद र बौद्ध विचार’ जस्ता विषयमा पनि छलफल र विमर्श जारी राख्ने जानकारी दिनुभयो । कार्यक्रममा बौद्ध अनुयायी, शोधकर्ता र जिज्ञासुहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *