सप्तरीको शम्भुनाथमा बेपत्ता भएकी २ वर्षीया बालिका झाडीमा मृत फेला

राजविराज, ७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिकामा बिहानैदेखि बेपत्ता भएकी दुई वर्षीया एक बालिका आफ्नै घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीका अनुसार शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकमा बस्ने मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन मृत फेला परेकी हुन्। बिहीबार बिहान घरैबाट हराएकी खुशीको परिवारजन र सुरक्षाकर्मीको टोलीले खोजी गर्ने क्रममा घरपछाडि रहेको झाडीमा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बालिकाको मृत्यु हुनुको स्पष्ट कारण भने खुल्न सकेको छैन। प्रहरीले शवलाई पोष्टमार्टमका लागि स्थानीय अस्पताल पठाएको र घटनाको सम्बन्धमा आवश्यक कानुनी अनुसन्धान अघि बढाएको जनाएको छ।