कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दायर गरेको रिट : सर्वोच्चद्वारा बिहीबारका लागि पेसी तय

काठमाडौँ, ९ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले बिहीबारका लागि पेसी तोकेको छ। पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले मङ्गलबार दर्ता गरेको उक्त रिटमाथि भोलि (बिहीबार) प्रारम्भिक सुनुवाइ हुने भएको हो।

नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी तयारी र प्रक्रिया अघि बढाएपछि देउवा समूहले त्यसलाई रोक्न कानुनी उपचार खोजेको हो।

पार्टीको आधिकारिकता र विधान कार्यान्वयनको विषयलाई लिएर सर्वोच्चमा विचाराधीन रहेको पुरानो विवादमा अदालतले पुनः सुनुवाइका लागि अनुमति दिइसकेको अवस्थामा नयाँ महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने निवेदकहरूको तर्क छ। देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार उक्त कानुनी विवादको अन्तिम टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी कुनै पनि कामकारबाही अघि बढाउनु कानुनसम्मत नहुने दाबी रिटमा गरिएको छ।

पार्टीभित्रको आन्तरिक सत्ता सङ्घर्ष र महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद बढ्दै जाँदा यो मुद्दा सर्वोच्च पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *