वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौँ, भदौ ९ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने र आकर्षक तलब दिलाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा झापा घर भई बुढानिलकण्ठ बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भई कागेश्वरी मनोहरा बस्ने २८ वर्षीया करिना देवकोटा, झापा घर भई काठमाडौँ ३ बस्ने २७ वर्षीय साजन खनाल, दोलखा घर भई सूर्यविनायक बस्ने ३४ वर्षीय पेमा लामा र ओखलढुङ्गा घर भई काठमाडौँ १५ बस्ने २७ वर्षीया तोमकुमारी थापा रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले पीडितहरूबाट विभिन्न देश पठाउने नाममा ठुलो रकम असुल गरी सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
सुष्मा भण्डारीले चेक रिपब्लिक पठाइदिने भन्दै ५ लाख ३५ हजार रुपैयाँ ठगी गरेको,
करिना देवकोटाले लिथुआनियाका लागि २ लाख ५० हजार रुपैयाँ लिएको,
साजन खनालले फिनल्याण्ड पठाइदिने भन्दै १२ लाख रुपैयाँ ठगी गरेको,
पेमा लामाले रोमानियाका लागि १ लाख रुपैयाँ लिएको र
तोमकुमारी थापाले माल्टा पठाइदिने भन्दै १ लाख ३५ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ।
पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।