राष्ट्रपति पौडेलद्वारा चाँगुनारायणको कलश दर्शन, शीतल निवास पुगेर पुजारीले गराए प्रसाद ग्रहण
काठमाडौँ, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवं परम्परागत चाँगुनारायणको कलश यात्राका क्रममा आज शीतल निवासमा कलशको छायाँ दर्शन गर्नुभएको छ ।
भक्तपुरस्थित चाँगुनारायण मन्दिरबाट सुरु भएको कलश यात्राका पुजारीसहितका सहभागीहरू आज साँझ राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले कलशमा आफ्नो छायाँ दर्शन गर्नुका साथै विधिपूर्वक टीका, फूल र प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
ऐतिहासिक परम्पराअनुसार चाँगुनारायण मन्दिरबाट भगवान् नारायण, लक्ष्मी र सरस्वतीको प्रतीकका रूपमा तीनवटा कलशलाई पैदल यात्रा गराएर काठमाडौँ ल्याउने गरिन्छ । ती कलशलाई सुरुमा हनुमानढोका तथा वसन्तपुर क्षेत्रमा पुर्याएर विशेष पूजा गरिन्छ ।
त्यसपछि राष्ट्रप्रमुखले कलशमा आफ्नो छायाँ हेर्ने र भगवानको प्रसाद ग्रहण गर्ने सदिऔँ पुरानो परम्परा रहिआएको छ । यस यात्राले भक्तपुर र काठमाडौँबीचको सांस्कृतिक सम्बन्ध र ऐतिहासिक धार्मिक महत्त्वलाई जोड्ने काम गर्दछ ।