भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री सङ्कलन गर्न तीन स्थान तोकिए, आर्थिक सहयोग गर्न कोष आह्वान

काठमाडौँ, ११ भदौ । सरकारले भोटेकोशी बाढीपीडितहरूका लागि राहत सामग्री सङ्कलन कार्यलाई व्यवस्थित बनाउन तीनवटा मुख्य सङ्कलन केन्द्र तथा सम्पर्क अधिकारीहरू तोकेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाईमार्ग हुँदै आउने अन्तर्राष्ट्रिय राहत सामग्री काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपत्कालीन गोदामघरमा जम्मा गरिनेछ। यसैगरी, स्थलमार्गबाट प्राप्त हुने सामग्रीहरू नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीस्थित नेपाली सेनाको ब्यारेकमा सङ्कलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ।

राहत सामग्री हस्तान्तरणका लागि सम्पर्क व्यक्तिहरू:
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आपत्कालीन गोदामघर): विश्व खाद्य कार्यक्रम (WFP) की प्रतिनिधि श्रद्धा भट्ट (मोबाइल नम्बर: ९८४१८७९२२२)
बट्टार, नुवाकोट (नेपाली सेनाको मैथिली ब्यारेक): नेपाली सेनाका प्रतिनिधि आविष्कार (मोबाइल नम्बर: ९८५१२३४३२४)
बैरेनी, धादिङ (नेपाली सेनाको ब्यारेक): प्रतिनिधि दिलीप घले (मोबाइल नम्बर: ९८५११५४२२६)
यसका अतिरिक्त, दाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत पनि राहत सामग्री प्रदान गर्न सक्नेछन्।

बाढीपीडितका लागि आर्थिक सहयोग गर्न चाहने आन्तरिक तथा बाह्य दाताहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसका लागि हिमालयन बैंकको डलर खाता, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक (क्यूआर कोडसहित), एभरेस्ट बैंक, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नबिल बैंक र कृषि विकास बैंकमा रहेको कोषको खाता प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।