मानवीय संकट व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ, भदौ १३ । रसुवा र नुवाकोट क्षेत्रमा बाढीले निम्त्याएको मानवीय संकट व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नतिजामूलक सक्रियता देखिएको छ । डंगोलको प्रत्यक्ष निर्देशन र समन्वयमा महानगरपालिकाले बाढीग्रस्त क्षेत्रबाट शवहरू संकलन र व्यवस्थापन गर्न तीव्र गतिमा काम अघि बढाएको छ ।

यसै क्रममा, महानगरपालिकाले आजै नुवाकोट पठाएका ४ वटा शव वाहनमध्ये एउटा वाहन ५ वटा शव लिएर काठमाडौँ फर्किएको छ । नुवाकोटको त्रिशुलीस्थित सैनिक तालिम केन्द्रबाट ४ जना पुरुष र १ जना महिलाको शव लिएर फर्किएको उक्त वाहनले ती शवहरूलाई पहिचान र पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगन्जमा बुझाउने तयारी गरेको छ ।

अन्तर-निकाय समन्वयमा प्रभावकारी कदम
कार्यवाहक प्रमुख डंगोलले संकटको घडीमा स्रोत साधनको अभाव हुन नदिन विभिन्न अस्पताल र छिमेकी नगरपालिकासँग उच्चस्तरीय समन्वय गर्नुभएको छ। महानगरले सूर्य विनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा शव वाहनहरू परिचालन गरेको हो ।

विपद व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रत्येक शव वाहनमा एक–एक जना नगर प्रहरी खटाइएको छ, जसले फिल्डमा प्रभावकारी परिचालन र सञ्चार सुनिश्चित गरेका छन् ।

सबैलाई जुट्न आह्वान
कार्यवाहक प्रमुख डंगोलले यो समय शोकको मात्र नभई दृढताका साथ पीडितको उद्धार र राहतमा जुट्ने समय भएको बताउनुभएको छ। “हामीले स्रोत र साधनको अधिकतम उपयोग गरेर मानवीय संकट टार्न अहोरात्र खट्नुपर्छ,” उहाँले भन्नुभयो, “यस्तो विपदको समयमा सबै सरकारी, निजी र सामाजिक संस्थाहरूलाई एकताबद्ध भएर काम गर्न म आह्वान गर्दछु ।”

महानगरपालिकाले केवल आर्थिक सहयोग मात्र नभई, जमिनमै पुगेर यन्त्र–उपकरण र मानवीय संवेदनाका साथ शव व्यवस्थापन सम्मका कार्यमा देखाएको यो सक्रियताले विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिकालाई थप सशक्त बनाएको छ ।