भोटेकोशीको बाढी चितवन आइपुग्दा बहावमा कमी : तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, भदौ १४ । भोटेकोशी नदीमा आएको बाढी त्रिशूली हुँदै चितवन आइपुग्दा यसको बहाव क्रमशः घट्दो क्रममा रहेको छ । आज बिहान ७ बजे मुग्लिन क्षेत्र पार गरेको उक्त बाढीको प्रभाव चितवनमा देखिन थाले पनि सुरुवाती अनुमानभन्दा बहाव कम भएको पाइएको हो ।

बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सचित कर्माचार्यका अनुसार त्रिशूली नदीमा पानीको सतह बाढी आउनुपूर्वको तुलनामा ३ देखि ३.५ मिटरसम्म वृद्धि भएको छ । उक्त बाढी नारायणी नदीमा मिसिएपछि पानीको सतह २ देखि २.५ मिटरसम्म बढ्ने अनुमान गरिएको छ । “नारायणी नदीको देवघाट मापन केन्द्रमा बाढी पूर्वको सतह ६ मिटर रहेको थियो । त्यहाँ पानीको सतह ९ मिटर पुगेपछि मात्र खतराको तह मानिने भएकाले हाल आत्तिनुपर्ने अवस्था छैन,” कर्माचार्यले भन्नुभयो । यद्यपि, नदीमा पानीको सतह बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच, अविरल वर्षा र बाढीको प्रभावका कारण पृथ्वीराजमार्गको कृष्णभीरमा सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार सडक भासिएका कारण चितवनबाट काठमाडौँतर्फ प्रस्थान गर्ने सवारीसाधनलाई सुरक्षित स्थानमा रोकिएको छ ।

यसअघि भोटेकोशीमा बाढी आएको खबरसँगै सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै बिहान ४ बजेदेखि सवारी आवागमन रोकिएको थियो । बिहान ७ बजे केही समयका लागि सडक सुचारु गरिए तापनि कृष्णभीरमा सडक थप भासिएपछि पुनः सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । सडक मर्मत गरी यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ ।