चीनद्वारा ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण, उद्धारका लागि चिनियाँ विशेषज्ञ टोली पनि काठमाडौँमा

काठमाडौँ, १४ भदौ । चीन सरकारले नेपालका बाढी र पहिरो प्रभावितहरूको सहयोगका लागि ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ‘वाई-२०’ ठुला कार्गो विमानमार्फत उक्त सामग्री काठमाडौँ ल्याइएको हो ।

चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती विमानहरू बिहान करिब ७:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञपनि आवश्यक उपकरणसहित नेपाल आइपुगेका छन् । उनीहरूले विशेषगरी रसुवागढी र त्रिशूली क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोजी र उद्धारमा सघाउनेछन् ।
राहत सामग्रीमा १३ हजार २०० थान विभिन्न वस्तुहरू रहेका छन् । जसमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, तयारी खाजा (बिस्कुट) र प्राथमिक उपचार किट समावेश छन् ।

विमानस्थलमा आयोजित एक संक्षिप्त समारोहका बिच राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो । मन्त्री पुनले सङ्कटको समयमा चीनले पुर्‍याएको सहयोगप्रति आभार प्रकट गर्दै चिनियाँ विशेषज्ञ टोलीलाई स्वागत गर्नुभयो ।
नेपाल र चीनको सीमा क्षेत्रमा गत बुधबार आएको भीषण बाढी र पहिरोपछि ठुलो जनधनको क्षति भएको छ । सोही विपद्को प्रतिकार्य र पुनःस्थापनामा सघाउन चीनले यो विशेष सहयोग पठाएको हो ।