भारतबाट चौथो खेप सहायता काठमाडौँमा : ११ टन राहत सामग्रीसँगै सुरुङ र फरेन्सिक विशेषज्ञ टोली पनि आइपुगे

काठमाडौँ, १४ भदौ । नेपालमा बाढी र पहिरोले पुर्‍याएको विनाशपछि छिमेकी मुलुक भारतले मानवीय सहायता र प्राविधिक सहयोगलाई थप तीव्रता दिएको छ । भारतीय वायुसेनाको ‘सी-१३०’ विमानमार्फत ११ टन राहत सामग्री र विज्ञहरूको विशेष टोलीसहितको चौथो खेप आइतबार काठमाडौँ आइपुगेको हो ।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले सामाजिक सञ्जालमार्फत नेपालको राहत र उद्धार प्रयासमा भारतको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस पटकको सहायतामा राहत सामग्री मात्र नभई जटिल उद्धारका लागि आवश्यक प्राविधिक जनशक्ति समेत समावेश छ । काठमाडौँस्थित भारतीय दूतावासका अनुसार सुरुङ (टनेल) भित्र फसेकाहरूको खोजी र उद्धारका लागि अत्याधुनिक उपकरणसहितको प्राविधिक टोली र बाढीमा ज्यान गुमाएकाहरूको पहिचान गर्न ‘डीएनए’ विश्लेषण उपकरणसहितको फरेन्सिक विशेषज्ञ टोली नेपाल आइपुगेका छन् ।

बाढीले ठुलो सङ्ख्यामा पुल र सडकहरू बगाएपछि यातायात सुचारु गर्न भारतले संरचनागत सहयोग पठाएको छ । विदेशमन्त्री जयशङ्करका अनुसार २३० फिट लामो ‘सिंगल लेन मोड्युलर स्टिल ब्रिज’का उपकरण बोकेका १६ वटा ट्रकहरू नेपालतर्फ प्रस्थान गरिसकेका छन् । यसका साथै थप ७ वटा बेली ब्रिजका उपकरण र ती जडान गर्ने प्राविधिक टोली पनि छिट्टै नेपाल आइपुग्ने भारतीय पक्षले जनाएको छ ।

भारतले हालसम्म हवाई मार्गबाट मात्रै कुल ६८.५ टन राहत सामग्री काठमाडौँ पुर्‍याइसकेको छ । आज आएको सामग्रीमा ११ टन ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट र सरसफाइका सामग्रीहरू (हाइजिन किट) रहेका छन् । यसअघिका खेपमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खानाका प्याकेट र पानी शुद्धीकरण गर्ने ट्याब्लेटहरू पठाइएको थियो ।