रसुवा भोटेकोशी बाढी : प्रभावितको सहयोगका लागि काठमाडौँ महानगरद्वारा ‘हेल्प डेस्क’ र सूचना केन्द्र स्थापना
काठमाडौँ, भदौ १५ ।काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिहरूलाई राहत तथा सहयोग पुर्याउन र विपद्सम्बन्धी सूचना आदानप्रदान गर्न ‘विपद व्यवस्थापन हेल्प डेस्क’ तथा ‘विपद सूचना केन्द्र’ सञ्चालनमा ल्याएको छ। प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा स्थापना गरिएको यस केन्द्रले सहयोग गर्न इच्छुक व्यक्ति, निजी क्षेत्र र प्रभावितहरूबीच सहजीकरणको भूमिका निर्वाह गर्नेछ ।
केन्द्रको मुख्य उद्देश्य बाढीका कारण महानगरबासीमा परेको क्षति र प्रभावको विवरण सङ्कलन गर्नुका साथै प्राप्त हुने सहयोगलाई आवश्यकताका आधारमा परिचालन गर्नु रहेको छ । केन्द्रले नागरिकलाई सूचना प्रदान गर्ने, समन्वय गर्ने र तत्काल राहत सामग्री उपलब्ध गराउन सहयोग गर्नेछ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रभावित क्षेत्रको आवश्यकता र उपलब्ध सामग्रीबीच सन्तुलन मिलाउन यो केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “बाढीग्रस्त क्षेत्रमा आवश्यकताहरू छिटो परिवर्तन भइरहेका छन्। तथ्य र तथ्याङ्कका आधारमा एकीकृत विपद् प्रतिकार्य गर्न केन्द्रले व्यवस्थापनको स्पष्ट चित्र प्रदान गर्नेछ।” उहाँले नगद सहयोग गर्न चाहनेलाई ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’ मा जम्मा गर्न र जिन्सी वा सेवामूलक सहयोगका लागि महानगरसँग समन्वय गर्न आग्रह गर्नुभएको छ ।
विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले आपतमा परेका यात्रुहरूका लागि निःशुल्क यातायात, घाइतेका लागि एम्बुलेन्स र अन्य अत्यावश्यक सेवाहरू परिचालन भइरहेको जानकारी दिनुभयो। यस्तै, वडाध्यक्ष हीरालाल तण्डुकारले महानगरको यस अभियानमा ऐक्यबद्धता जनाउँदै आफ्नो तर्फबाट करिब २ लाख ४८ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
केन्द्रमा एक जनप्रतिनिधि र दुई कर्मचारी खटाइएको छ । नागरिकले थप जानकारी वा सहयोगका लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन् ।
केन्द्रको फोन नं. : ०१-५३४०८८०
विपद व्यवस्थापन विभाग प्रमुख (अनिरुद्र नेपाल) : ९८४१३४९७३५
मेट्रो एफ.एम. स्टेशन म्यानेजर (केशवप्रसाद नेपाल) : ९८४१२५०७८०
विपद व्यवस्थापन विभागले वडा स्तरबाटै क्षतिको विवरण सङ्कलन गरी राहत र पुनस्र्थापनाको कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।