भोटेकोशी र त्रिशूलीको बहाव घट्यो : तर विभिन्न जिल्लामा आकस्मिक बाढीको ‘उच्च जोखिम’ कायमै

काठमाडौँ,  भदौ १६ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीको जलस्तर हाल सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपश्चात् नदीको बहाव सामान्य हुँदै गए पनि मनसुन सक्रिय रहेकाले जोखिम कायम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज सार्वजनिक गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार, देशका विभिन्न भागमा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम देखिएको छ ।

नुवाकोट र रसुवामा उच्च जोखिम
महाशाखाका अनुसार नुवाकोट र रसुवा जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने ‘उच्च सम्भावना’ रहेको छ । ती क्षेत्रका तटीय बासिन्दालाई विशेष सावधानी अपनाउन सूचित गरिएको छ ।

अन्य १६ जिल्लामा मध्यम जोखिम
यसैगरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकसहित काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर) मा आकस्मिक बाढीको ‘मध्यम जोखिम’ रहेको छ। धादिङ, गोरखा, लमजुङ र डोल्पा आसपासका जिल्ला भएर बहने स-साना नदीहरूमा पनि बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

सुदूरपश्चिम र कर्णालीमा पनि सतर्कताको आग्रह
महाशाखाले पश्चिम नेपालका रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर जिल्लाका साना नदीहरूमा समेत बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण तथा यात्रा गर्ने यात्रुहरूलाई मौसमको अवस्था र बाढीको सूचना निरन्तर अनुगमन गरी सुरक्षित रहन महाशाखाले विशेष आग्रह गरेको छ ।