बाढीले अवरुद्ध नुवाकोटको ढुङ्गे सडक सञ्चालनमा : बेत्रावतीसम्मको पहुँच सहज

नुवाकोट, १६ भदौ । भोटेकोशीको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ। सडकको अवरोध हटेसँगै सदरमुकाम विदुरबाट ढुङ्गे हुँदै बेत्रावतीसम्मको आवतजावत सुचारु भएको हो।

बाढीले सडकमा पुर्‍याएको क्षति र बस्तीमा थुप्रिएको लेदो तथा भग्नावशेष पन्छाउन जिल्ला विपद् व्यवस्थापन समितिले उच्च प्राथमिकता दिएको थियो। विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले ढुङ्गेबजार क्षेत्रको डुबान र सडकको अवरोध हटाइएपछि आवागमन सहज भएको जानकारी दिनुभयो।

सडक सञ्चालन भएसँगै बाढीमा ज्यान गुमाउनेहरूको शव व्यवस्थापन, क्षतिग्रस्त घरहरूबाट बाँकी रहेका सामग्री सङ्कलन र प्रभावित क्षेत्रमा राहत पुर्‍याउन निकै सहज भएको छ। “सडक खुलेपछि अन्य क्षतिग्रस्त स्थानका सडक मर्मतका लागि आवश्यक हेभी यन्त्र उपकरण र जनशक्ति पठाउन समेत सजिलो भएको छ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो।

ढुङ्गेलगायतका क्षेत्रमा अवरुद्ध सडक खुलाउन सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाका उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। यस कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अहोरात्र खटेर महत्त्वपूर्ण सहयोग पुर्‍याएका थिए। यातायात सुचारु भएसँगै बेत्रावतीसम्मको पहुँच पुनः स्थापित भएको छ, जसले समग्र जिल्लाको उद्धार कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ।